गगन धुलिखेलबाट फिर्ता, देउवा परामर्शमा व्यस्त

गगन धुलिखेलबाट फिर्ता, देउवा परामर्शमा व्यस्त


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहसले उत्कर्षमा पुगेका बेला महामन्त्री गगन थापा आफ्नो धुलिखेल बसाइ छोट्याएर शुक्रबार बिहानै काठमाडौँ आइपुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अकस्मात् केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेपछि महामन्त्री थापा राजनीतिक दस्ताबेज लेखनलाई थाती राख्दै राजधानी फर्किएका हुन् ।

विशेष महाधिवेशनका लागि आवश्यक राजनीतिक प्रस्ताव र खाका तयार पार्न भन्दै थापा बिहीबार काभ्रेको धुलिखेल पुगेका थिए । केही दिन धुलिखेलमै बसेर दस्ताबेजलाई पूर्णता दिने उनको योजना थियो । बिहीबार साँझ महामन्त्री थापा धुलिखेलतिर लागेका थिए । शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

थापा काठमाडौँ फर्किएलगत्तै विशेष महाधिवेशन पक्षधर नेताहरूसँग सघन छलफल सुरु गरेका छन् । आन्तरिक परामर्श र रणनीति तय गरेपछि मात्रै दिउँसो बस्ने बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिने महामन्त्री थापाको तयारी छ ।

देउवाको दौडधुप र रणनीतिक छलफल
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको तयारी थालेपछि सभापति देउवाले शुक्रबार बिहानैदेखि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । देउवाले बिहानै कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई महाराजगञ्ज बोलाएर ३ बजेको बैठकमा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल गरेका छन् । महामन्त्रीहरूको कदमलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सभापति देउवाको छलफल केन्द्रित रहेको बुझिएको छ ।