पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न कांग्रेस नेतृत्वलाई अल्टिमेटम

पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न कांग्रेस नेतृत्वलाई अल्टिमेटम


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने रस्साकस्सी चलिरहँदा महाधिवेशन प्रतिनिधिहरूको एक समूहले पार्टी नेतृत्वलाई अल्टिमेटम दिएको छ । पार्टीको संस्थापन पक्षले तोकिएको समयमा नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउन नसकेको आरोप लगाउँदै असन्तुष्ट पक्षले आगामी पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको हो ।

शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनपछि ‘विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू’ को नामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको विकल्प नरहेको जिकिर गरिएको छ । यसअघि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित अधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको तयारी थालेको चर्चा चलिरहँदा यो विज्ञप्ति सार्वजनिक भएको हो ।

विज्ञप्तिमा पार्टी नेतृत्वको अस्पष्ट नीति, जालझेल र सत्ता लम्ब्याउने कपटपूर्ण सोचका कारण पुस १६ गते हुनुपर्ने वडा अधिवेशन रोकिएको र १५औँ महाधिवेशनको कार्यतालिका अलपत्र परेको गम्भीर आरोप लगाइएको छ । असोज २९ गते नै देशभरका २४८८ (५४ प्रतिशतभन्दा बढी) महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गराइएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको समयमा १५औँ महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुनुपर्दछ । अब नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’

विधानतः विशेष महाधिवेशनको माग दर्ता भएको तीन महिनाभित्र (२०८२ पुस २८) अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने व्यवस्थालाई टेकेर मागकर्ताहरूले पुस २७ र २८ गतेको मिति प्रस्ताव गरेका हुन् । उनीहरूले नेतृत्वलाई चेतावनी दिँदै भनेका छन्- ‘पार्टी विधानभन्दा माथि कोही पनि हुन सक्दैन । विधानको बाध्यात्मक व्यवस्था नमान्ने हो भने संविधान र विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?’