विशेष महाधिवेशन आवश्यक छ : सहमहामन्त्री मन्सुर

विशेष महाधिवेशन आवश्यक छ : सहमहामन्त्री मन्सुर



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे ।

कांग्रेसभित्रका परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्ने प्रस्ताव पनि राखे ।

उनले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए । उनले आसन्न निर्वाचनमा आफ्ना मान्छेलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाए ।

उनले पार्टीको विषेश महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताए ।