काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा परेका उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् ।
ढकालले आज सामाजिक संञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको र त्यसका लागि नवयुवाहरू अघि सरिरहेको परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गरेको भन्दै पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।
उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन्।


प्रतिक्रिया