काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै जबरजस्ती पेलेर जान खोजे त्यसले गम्भीर ‘राजनीतिक दुर्घटना’ निम्त्याउने चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित नियमित महाधिवेशनलाई सारेर आगामी वैशाखमा पुर्याउने निर्णय गरेपछि असन्तुष्ट बनेका घिमिरेले शनिबार नेतृत्वको कार्यशैलीप्रति कडा आक्रोश पोखेका हुन् ।
विशेष महाधिवेशनको माग राख्दै देशव्यापी हस्ताक्षर अभियानको अग्रमोर्चामा रहेका घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्वलाई सचेत गराए । ‘विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व एकोहोरो ढंगले अघि बढ्न सक्दैन,’ घिमिरेले स्पष्ट पार्दै लेखेका छन्, ‘यस्तो संवेदनशील विषयमा जबरजस्ती गरिए भविष्यमा उत्पन्न हुनसक्ने जुनसुकै राजनीतिक दुर्घटनाको भागिदार स्वयं नेतृत्व नै हुनुपर्नेछ ।’
कांग्रेसको गौरवशाली इतिहासको स्मरण गर्दै उनले ७५ वर्षअघि देशबाट ‘हुकुमी शासन’ अन्त्य गरेको पार्टीभित्रै अहिले त्यस्तै शैलीको अभ्यास भइरहेको भन्दै तीखो टिप्पणी गरेका छन् । पार्टीलाई विधान र पद्धतिभन्दा पनि व्यक्तिको चाहनामा चलाउन खोजिएको प्रति उनको आपत्ति छ । नेता घिमिरेले नेतृत्वको रवैयाप्रति प्रश्न उठाउँदै भनेका छन्, ‘नेता सरह वा सोभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई ‘रैती’ ठान्ने र लोकतान्त्रिक पार्टीलाई ‘निजी जमिन्दारी’ वा घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ ।’
मुलुकको वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा कांग्रेस एकढिक्का भएर उभिनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि विशेष महाधिवेशनको माग सम्बोधन गर्नु अनिवार्य रहेको औंल्याएका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र विधानको रक्षा गर्न नेतृत्व गम्भीर बन्नुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया