इटहरीमा ग्यास सिलिन्डर पड्किँदा पाँच पसल जले

इटहरीमा ग्यास सिलिन्डर पड्किँदा पाँच पसल जले


ग्लोब नेपाल
270
Shares

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-६, स्थित आइतबारे चोकमा मंगलबार बिहान भएको भीषण आगलागीबाट पाँचवटा पसलमा क्षति पुगेको छ । बिहान ४ः४५ बजे सेवारो फ्रेस हाउसबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उग्र रूप लिँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगो लाग्नासाथ सेवारो फ्रेस हाउसभित्र रहेका तीनवटा ग्यास सिलिन्डर विस्फोट हुँदा स्थिति नियन्त्रणबाहिर गएको थियो । विस्फोटको धक्का र तीव्र आगोका कारण सँगै रहेका अन्य पसलहरू पनि चपेटामा परेका हुन् ।

गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको दमकलमा आगजनी भएपछि हाल उक्त दमकल प्रयोगविहीन अवस्थामा छ । स्थानीय दमकल नभएकै कारण आगो समयमै नियन्त्रणमा लिन सकिएन । आगो निभाउन धरान, झुम्का र दुहबीबाट दमकल झिकाउनु परेको थियो। बाहिरी क्षेत्रबाट दमकल आइपुग्दा आगो फैलिसकेको स्थानीयले बताएका छन् ।

आगलागीबाट सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्ण रूपमा जलेका छन् । प्रहरीका अनुसार खड्का फ्रेस हाउसमा दुईवटा सटरसहित भित्र राखिएको एक थान मोटरसाइकल र करिब तीन लाख रुपैयाँ बराबरको सामान जलेको छ । यस्तै, सेवारो फ्रेस हाउसमा करिब दुई लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगोको लप्काले नजिकै रहेका नमस्ते फ्रेस हाउसमा १ लाख १० हजार, गणेश सब्जी पसलमा ८० हजार र पूर्वाञ्चल फ्रेस हाउसमा ५ हजार रुपैयाँ बराबरको आंशिक क्षति पुर्‍याएको छ ।

घटनालगत्तै डीएसपी सुवास हमालको नेतृत्वमा नेपाल प्रहरी र मेजरको नेतृत्वमा नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मीले जोखिम मोलेरै आंशिक क्षति भएका पसलका सामान बाहिर निकालेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको डीएसपी हमालले बताए । तीन ठाउँका दमकल र सुरक्षाकर्मीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।