काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरूले नेता डा. शेखर कोइरालासँग आज बिहान लामो छलफल गरेका छन् । बिहान ८ बजेबाट सुरु भएको छलफल साढे दुई घण्टा चलेको थियो । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत सहभागी थिए ।
भेटमा उनीहरूले पार्टीभित्र देखिएको विवाद समाधानका लागि कोइरालालाई अग्रसरता लिन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा १५ औं महाधिवेशन वैशाखमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताले फरक मत राखेका थिए । सोही निर्णयलाई लिएर पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ ।
नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताउँदै आएका छन् तर फरक मत राखेका छैनन् । विशेष महाधिवेशनको पक्षमा पनि उनी खुलेर लागेका छैनन् । उनले माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताए । उनले सो अवधिमा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिने भएकाले त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए ।


प्रतिक्रिया