हेक्का रहोस् ! टेकुबाट निस्कँदै गरेको अवस्था आउनसक्छः गगन

हेक्का रहोस् ! टेकुबाट निस्कँदै गरेको अवस्था आउनसक्छः गगन


ग्लोब नेपाल
13.6k
Shares

काठमाडौं । राष्ट्रियसभाको उम्मेदवार फाइनल गर्न आज दोस्रो दिन मंगलबार बसेको नेपाली कांग्रेसको बैठकमा महामन्त्री गगनकुमार थापाले मूल नेतृत्वलाई पार्टीबाट निस्काशन गर्न सक्नेसम्मको चेतावनी दिएका छन् । उनले महामन्त्रीलाई थाहा नदिइ चुनावी गठबन्धन गरेको विषयमा रोष व्यक्त मात्र गरेनन् यसरी आफूहरुलाई हेप्दै जाने हो भने कांग्रेस टेकुबाट निस्कँदै गरेको अवस्था सिर्जना हुनसक्ने चेतावनी दिए ।

२०५९ साल जेठ ११ गते आइतबार केन्द्रीय कार्यसमितिको निर्णय अवज्ञा गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कशन गरिएको थियो ।

त्यसबेला पार्टीसभापति गिरिजाप्रसाद कोइराला, महामन्त्री सुशील कोइराला, अनुशासन समितिको संयोजक महन्थ ठाकुर थिए । अनुशासन समितिको सिफारिसमा देउवालाई निष्काशन गरिएको थियो ।

वर्तमान पार्टी सभापति शेरबहादुर देउवा त्यसबेला पनि निष्कासमा परेका थिए, अब फेरि निष्कासन गर्न नपरोस् भन्ने आशय महामन्त्री थापाले आज दिएको अभिव्यक्तिमा झल्किन्थ्यो ।

महामन्त्री थापाले राष्ट्रिय सभा निर्वाचनमा भएको गठबन्धनबारे आफूहरुलाई जानकारी नभएको स्पष्ट पारे । उनले प्रतिनिधिसभाको निर्वाचनमा यस्तो गठबन्धन नगर्न समेत चेतावनी दिए । उनले लगभग ७ मिनेट जति बोलेका थिए । उनको ७ मिनेटको अभिव्यक्ति नेतृत्वको आलोचना गरेर बितेको थियो ।