काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले महामन्त्री गगनकुमार थापाले आह्वान गरेको विशेष महाधिवेशन एउटा गुटको भेला मात्र भएको बताएका छन् । विधानले विशेष महाधिवेशन नचिन्ने भएकाले त्यो एउटा गुटको भेलामा परिणात हुने उनले बताएका हुन् । विशेष महाधिवेशनबारे गुरुङले सार्वजनिक गरेको अभिव्यक्ति जस्ताको त्यस्तै–
‘नेपाली कांग्रेसको विधानले ‘नियमित’ होस् कि ‘विशेष’ होस्, ‘महाधिवेशन’ गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको छ । केन्द्रीय कार्य समितिबाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार पार्टीको विधानले दिएको छैन ।
केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने पार्टीको वैधानिक व्यवस्था रहेको छ । केन्द्रीय कार्य समितिले अनुमोदन वा निर्णय नगरेसम्म महाधिवेशन सम्बन्धी निर्णय वैधानिकरुपले कार्यान्वयन हुन सक्दैन ।
२०८२ मंसिर १५ गते नै २०८२ पुष २६, २७ र २८ गते पार्टीको १५औं महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको क्षण नै विशेष महाधिवेशनको औचित्य र आवश्यकता समाप्त भई सकेको छ । केन्द्रीय कार्य सम्पादन समितिले १५औं महाधिवेशन पुषमा गर्न नसकिने भएकोले मिति परिवर्तन गरि २०८३ बैशाख २८, २९, ३० र ३१ गते तोकि सकेको र मुलुक चुनावमा गैसकेको कारणले विशेष महाधिवेशनको सामाजिक संजालमा हल्ला गर्नुको कुनै औचित्य र आवश्यकता नै छैन ।
पार्टीको वैधानिक समितिले वैधानिक बाटोबाट वैधानिक तरिकाले वैधानिक प्रक्रियाहरु पुरा गरेको निर्णयहरु मात्रै वैधानिक हुन्छन् । अहिले सामाजिक संजालमा चलाईएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन ।
यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुंदैन र हुन पनि सक्दैन । केही व्यक्तिहरुले बोलाएको भेला सानो गुटको भेला मात्र हुनेछ।
ढुक्क हुनु होस् ,
नेपाली कांग्रेसको विधान, विधि र प्रक्रिया अनुसार नभएको कुनै पनि महाधिवेशन वा बैठक वा भेला वा सम्मेलन वा विशेष महाधिवेशनलाई पार्टीको विधानले चिन्दैन ।’


प्रतिक्रिया