काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज (बुधबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकै दिन एमालेले ६ वटा प्रदेशका लागि उम्मेदवार चयन गरेको हो ।
एमालेले टुंग्याएको नामावली अनुसार एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले लुम्बिनी प्रदेशबाट टिकट पाएकी छिन् । त्यस्तै, कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकी स्वकीय सचिव रोशनी मेचेलाई उम्मेदवार बनाइएको छ ।
कुन प्रदेशमा को उम्मेदवार ?
कोशी प्रदेश : रोशनी मेचे
बागमती प्रदेश : डा. प्रेमकुमार दङ्गाल
गण्डकी प्रदेश : सम्झना देवकोटा
लुम्बिनी प्रदेश : रामकुमारी झाँक्री
कर्णाली प्रदेश : मीना रखाल
सुदूरपश्चिम प्रदेश : लीलाकुमारी भण्डारी
मधेश प्रदेशमा भने एमालेले हालसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन ।
दलहरूबीच भागबन्डाको कसरत जारी
कूल १८ रिक्त सिटका लागि हुन लागेको यस निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच गठबन्धन बनाएर जाने तयारी भइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सिट बाँडफाँटमा सहमतिको प्रयास जारी छ ।
दलहरूबीच भएको अनौपचारिक समझदारी अनुसार एमाले र कांग्रेसले ७-७ सिट, नेकपाले ३ सिट तथा जसपा नेपाल र लोसपाले १-१ सिट लिने गरी छलफल अघि बढेको छ । यद्यपि, यो भागबन्डामा पूर्ण सहमति जुटिसकेको छैन । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो भने एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।


प्रतिक्रिया