काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट कोशी प्रदेशमा उम्मेदवार बनाइएका हेमराज घिमिरेले मनोनय दर्ता गर्न भ्याएनन् । उनले मनोनय दर्ता नगरेपछि कांग्रेस एमालेको गठबन्धनबाट साझा उम्मेदवार बनेका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुलातर्फ थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि थापा निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको छैन । नेकपा उम्मेदवार घिमिरे संखुवासभाको खाँदबारीबाट मोटरबाइकबाट विराटनगर आइपुग्दा उम्मेदवार मनोनय गर्ने समय सकिएपछि उनको उम्मेदवारी दर्ता हुन सकेन ।
पराजित हुने निश्चित भएपछि उनले उम्मेदवारी नै गठबन्धनका उम्मेदवार थापालाई बेचेको चर्चा यतिबेला कोशी प्रदेशमा गरिएको छ । नेकपा प्रदेश संयोजक सरिता खड्काले समयमै विराटनगर पुग्न घिमिरेलाई निर्देश गरेकी थिइन्, तर उनले आलटाल गरेर खाँदबारीमै डेढ बजाएका थिए ।
उम्मेदवारी दर्ता मनोनय समयसीमाभित्र पुग्न सकिँदैन भन्ने भएपछि उनी खाँदबारीबाट मोटरसाइकल चढेर विराटनगर झरेका थिए । बीच–बीचमा अलमल गर्दै बाटो लागेका घिमिरे धनकुटामा मोटरबाइक बिसाएर खाजा खान बसेका थिए । जानकारहरु भन्छन्, ‘त्यही गठबन्धनका उम्मेदवारका प्रतिनिधिसँग खाजापानीको व्यवस्था गरेका थिए ।’
त्यत्ति मात्र होइन, वारिसमार्फत् उम्मेदवारी मनोनय गराउने विकल्पमा पनि उनले चलाखी गरेका थिए । वारिसमार्फत् उम्मेदवारी मनोनयको विकल्प बाँकी थियो । उनले वारिसपत्र पठाए तर हस्ताक्षर भने गरेनन् । हस्ताक्षर नभएको वारेसलाई निर्वाचन आयोगले स्वीकार गरेन् । हस्ताक्षरसहितको अर्को वारेसपत्र माग्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । ५ बजेसम्मै उनको नियमित मोबाइलले सम्पर्क हुन सकेन मात्र भनिरह्यो ।
घिमिरे संखुवासभाका पुराना कम्युनिष्ट नेता हुन् । उनी एमाले जिल्ला अध्यक्ष र जिल्ला उपसभापतिसमेत भइसकेका नेता हुन् । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा घिमिरेले एमाले जिल्ला कमिटी नै नेकपा एसमा समाहित गरेका थिए ।
उनको राजनीतिक विगत पनि यस्तै विवादस्पद छ । कुटपिट र झैझगडामा अगाडि सर्ने घिमिरेले २०७४ को आम निर्वाचनमा एमाले उम्मेदवार राजेन्द्र गौतममाथि अन्तरघात गरेको चर्चा संखुवासभामा अहिलेसम्म सेलाएको छैन । जिल्ला अध्यक्ष घिमिरेले कांग्रेस उम्मेदवार दिपक खड्काबाट नगद लिएर एमाले उम्मेदवार गौतममाथि अन्तरघात गरेको आरोप लागेको थियो ।
एमाले र माओवादीको गठबन्धन भएकाले गौतमले चुनाव हजार मतान्तरले जिते । तर, एमाले उम्मेदवार गौतम निर्वाचित हुनु अघि नै घिमिरेको दैनिक जीवनमा अस्वभाविक परिवर्तन मात्र आएको थिएन, गोठमा लैनो भैसीहरु थपिएका थिए । जसलाई आधार मानेर घिमिरेले एमाले उम्मेदवारमाथि अन्तरघात गरेको अनुमान लगाइएको थियो ।
अहिले नेकपाको तर्फबाट पराजित उम्मेदवार बन्नुभन्दा प्रतिस्पर्धीसँग खर्च उठाउने खेलमा घिमिरे लागेको बुझिन्छ । खाँदबारीबाट धनकुटा हुँदै विराटनगर हिड्का घिमिरेले बाटोमा नै खाजा खाएका थिए । घिमिरेको चरित्र बुझेका एमाले–कांग्रेस कार्यकर्ताले उनलाई धनकुटामै खाजा पानीको व्यवस्था गरेको अनुमान लगाएपछि उनी शंकाको घेरामा तानिएका हुन् ।


प्रतिक्रिया