कर्णालीमा कांग्रेस-एमालेको संयुक्त ‘ह्वीप’, साझा उम्मेदवार जिताउन निर्देशन

कर्णालीमा कांग्रेस-एमालेको संयुक्त ‘ह्वीप’, साझा उम्मेदवार जिताउन निर्देशन


ग्लोब नेपाल
243
Shares

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेललाई कसिलो बनाएका छन् । निर्वाचनमा आफ्ना साझा उम्मेदवारलाई विजयी गराउन दुवै दलले बुधबार साँझ औपचारिक रूपमा संयुक्त अपिल जारी गरेका हुन् ।

गठबन्धनको तर्फबाट ‘अन्य’ समूहतर्फ नेपाली कांग्रेसका ललितजंग शाही र ‘महिला’ तर्फ नेकपा एमालेकी मिनासिंह रखाल उम्मेदवार छन् । यी दुवै उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख-उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षहरूलाई निर्देशन दिइएको छ ।

मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव यामलाल कँडेलको विशेष उपस्थितिमा बसेको दुई दलको उच्चस्तरीय बैठकले मतदानको दिन समयमै मतदान स्थलमा उपस्थित हुन र गठबन्धनको मर्म अनुसार मतदान गर्न आफ्ना मतदाता (जनप्रतिनिधि) लाई आग्रह गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्माको सहभागिता थियो भने कांग्रेसका तर्फबाट सभापति एवं उम्मेदवार ललितजंग शाहीसहित महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।