काठमाडौं । नेपाली महिला फुटबलकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर चोटका कारण मैदान बाहिर रहने भएकी छिन् । अस्ट्रेलियाको व्यवसायिक लिग ‘ए-लिग वुमन’ खेल्ने क्रममा घाइते भएकी साम्बाले सन् २०२५-२६ को बाँकी सिजन गुमाउने निश्चित भएको हो ।
न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट लिग खेलिरहेकी सावित्रा गत शनिबार ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा विपक्षी टोलीकी गोलकिपरसँग हावामा ठोक्किँदा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । टाउकोले बल प्रहार गर्ने क्रममा भएको उक्त टक्करपछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।
बुधबार उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै वेलिङ्टन फिनिक्सले साम्बाको चोट गम्भीर रहेको पुष्टि गरेको छ । एमआरआई स्क्यान रिपोर्टअनुसार उनको दाहिने घुँडाको ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट’ (एसीएल) ग्राफ्ट फुटेको छ । यो चोटका कारण उनलाई पूर्ण रूपमा निको भएर मैदान फर्कन ९ देखि १२ महिनासम्म लाग्न सक्ने चिकित्सकहरूले बताएका छन् ।
साम्बा गत साउनमा मात्रै वेलिङ्टन फिनिक्ससँग आबद्ध भएकी थिइन् । न्युजिल्यान्डको यस क्लबले अस्ट्रेलियाको ए-लिगमा सहभागिता जनाउँदै आएको छ । उत्कृष्ट लयमा रहेकी साम्बा घाइते भएपछि उनको क्लब र समर्थकहरू स्तब्ध भएका छन् ।


प्रतिक्रिया