रास्वपाको समानुपातिक बन्दसूचीबाट १५ भन्दा बढीले गरे नाम फिर्ता लिएको घोषणा

रास्वपाको समानुपातिक बन्दसूचीबाट १५ भन्दा बढीले गरे नाम फिर्ता लिएको घोषणा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट अहिलेसम्म १५ भन्दा बढीले नाम फिर्ता लिने जानकारी पार्टी नेतृत्वलाई गराएका छन् । जसमा आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलातर्फ त्रिसला गुरुङ छन् ।

यसैगरी खस आर्य क्लस्टरतर्फ सचिन ढकाल, अरनिको कुमार पाँडे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली (ट्राभलर सिज्जू) ले नाम फिर्ता लिएका छन् । दलित क्लस्टरबाट डा.रामजी राम, साजन विक, किशोर गन्धर्व तथा मुस्लिम क्लस्टरबाट आसिफ शाह र मोहना अन्सारीले पनि फिर्ता लिने घोषणा गरेका छन् ।

यीमध्ये अधिकांशले सामाजिक सञ्जालमार्फत जनभावना, पार्टीभित्रको असन्तुष्टि र समानुपातिक प्रणालीको मर्मविपरीत सूची बनेको भन्दै नाम फिर्ता लिएका हुन् । उनीहरु तीतो पोख्दै फेसबुकमा फिर्ता लिएको स्टाटस लेखेका छन् । बन्दसूचीमा नाम फिर्ता लिएको घोषणा भए पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्ने प्रावधान छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम फिर्ता लिन चाहनेले पुस २८ गतेसम्म निवेदन दिन सक्नेछन् । त्यसपछि पार्टीले सोही क्लस्टरबाट नयाँ नाम थप्न पाउने छ ।

बन्दसूचीमा चितवनबाट मात्र २१ जना परेका, ४४ जिल्ला प्रतिनिधित्वविहीन भएका तथा व्यापारी, कलाकार र नेताका निकटस्थहरूलाई प्राथमिकता दिएको आरोप लागेपछि विवाद बढेको हो ।