काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको ‘विशेष महाधिवेशन’ विरुद्ध सुदूरपश्चिमका जिल्ला नेतृत्वले कडा असन्तुष्टि जनाएका छन् । प्रदेशका ६ जिल्ला सभापतिहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित महाधिवेशन पार्टी विधानको मर्मविपरीत रहेको ठहर गरेका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा सुदूरपश्चिमका प्रभावशाली जिल्ला सभापतिहरूले भने त्यसलाई बहिष्कार गर्न आम कार्यकर्तालाई अपिल गरेका छन् ।
विशेष महाधिवेशनविरुद्ध संयुक्त हस्ताक्षर गर्नेहरूमा कैलाली सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका पदम बोगटी, अछामका पुष्पबहादुर शाह, डडेलधुराका भीम साउँद, डोटीका नरेन्द्रबहादुर सिंह र बझाङका खडकबहादुर बोहरा रहेका छन् । उनीहरूले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनकै प्रक्रियामा जानुपर्ने अडान राखेका छन् ।


प्रतिक्रिया