काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकीकरण प्रक्रिया बिथोलिन थालेको छ । कुनै सिद्धान्तमा मतभेद भएर होइन, पद बाँडफाँडमा कुरा नमिलेपछि एकता बिथोलिन लागेको हो ।
एकता प्रक्रिया अघि बढाउँदा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी, केन्द्रीय समितिमा २६ जना सदस्य र समानुपातिकतर्फ १८ सिट दिने प्रारम्भिक समझदारी भएको थियो । तर, अहिले रास्वपाले समानुपातिकको संख्या घटाएर १४ मा झारेको र सांसद बन्ने निश्चित मानिएका ६ जनाको ‘क्ल्स्टर’ नै हटाइदिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
तर, संघीयता र धर्मनिरपेक्षताजस्ता पेचिला राजनीतिक मुद्दामा एकमत हुन नसकिरहेका र रास्वपाले पूर्वसहमति लत्याएको उज्यालो नेपाल पक्षको भनाइ छ । रास्वपा नेतृत्वले ‘ठूलो दलको दम्भ’ देखाएको र आफ्ना नेता-कार्यकर्तालाई अपमानित गर्ने व्यवहार गरेको निष्कर्षसहित उज्यालो नेपालका नेताहरूले एकता प्रक्रियामै पुनर्विचार गर्न दबाब दिएका छन् ।
हिजो शुक्रबार काठमाडौंको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकमा यस विषयले गम्भीर रूप लिएको छ । बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत रूपमा लचिलो देखिए पनि उनको सचिवालय र ‘कोर टिम’ सहमति पालनामा बाधक बनेको बताएका छन् ।
रास्वपाले सहमति पालना नगरेको निष्कर्षसहित कुलमान घिसिङ दोस्रो विकल्पमा जुटेका छन् । जसअनुसार कुलमानले उज्यालो नेपाल पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने र समानुपातिक मतका लागि अन्य कुनै दलसँग मोर्चाबन्दी वा सहकार्य गर्ने रणनीति बनाएको बुझिएको छ ।


प्रतिक्रिया