काठमाडौँ । नेपाली काँग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा भोलि पार्टीका सबै तहका कार्यालय बन्द गर्ने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यकालहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
यस्तै, दाहालको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
८४ वर्षीय दाहालको शुक्रबारका काठमाडौँको मैतिदेवीस्थित निवासमा निधन भएको थियो । स्वर्गीय दाहाल नेपाल पत्रकार महासंघको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष भएका थिए ।
दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।
केन्द्रीय कार्यसमितिले उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ ।


प्रतिक्रिया