पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ: ज्ञानेन्द्र शाह

पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ: ज्ञानेन्द्र शाह


ग्लोब नेपाल
351
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन्। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले निरन्तर संकटको सामना गरिरहनु परेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै विमुख नभएको उल्लेख गरेका छन्।

उनले सबै नेपालीलाई कर्तव्य बोधका साथ अघि बढ्न आह्वान गर्दै भनेका छन्, ‘सबै नेपालीले यो कर्तव्य बोध गरी ‘पृथ्वी पथ’ मा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ।’