इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जनाको मृत्यु भएको छ । इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन् ।
यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो । टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको बताएको छ, जसमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको बताइएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले शुक्रबार राति रश्त शहरको एउटा मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् ।
इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार, विगत चार दिनमा सुरक्षा बलको कारबाहीमा सयौँ मानिसहरूको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन । इरानका तीनवटा अस्पतालका कर्मचारीहरूले उनीहरूकहाँ घाइतेहरूको संख्या अत्यन्तै धेरै रहेको बताएका छन् ।
अधिकारीहरूले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै उनीहरूलाई ‘ईश्वर विरुद्धको अपराधी’ मान्न सकिने बताएका छन् । इरानमा यो यस्तो अपराध हो, जसको सजाय मृत्युदण्ड हुन सक्छ । सुरक्षा बलले बिहीबार राति प्रदर्शन चर्किएपछि धेरै ठाउँमा गोलाबारी गरेको थियो, त्यसपछि लगातार कारबाही जारी छ ।
यसैबीच, रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सरकारी टेलिभिजनसँग कुरा गर्दै अभिभावकहरूले आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्नुपर्ने, यदि उनीहरूलाई गोली लाग्यो भने गुनासो नगर्न चेतावनी दिएका छन् । इरानका सर्वोच्च नेता अली खामेनीले शनिबार देशभर भइरहेका प्रदर्शनका बीच शुक्रबार पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका थिए ।
इरानको सरकारी टिभीले उनको भाषण प्रसारण गरेका थिए । खामेनीले इरानले ‘विदेशीका लागि काम गर्ने भाडाका मानिसहरू’ लाई सहन नगर्ने बताए । उनले प्रदर्शनको पछाडि विदेशी एजेन्टहरू रहेको र उनीहरूले देशमा हिंसा भड्काएको पनि बताएका थिए ।
खामेनीले देशमा रहेका सार्वजनिक सम्पत्तिलाई नोक्सान पुर्याएर अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न चाहने केही उपद्रवीहरूले यस्तो गरिरहेको बताए । तर, इरानको एकजुट जनताले आफ्ना सबै शत्रुहरूलाई हराउनेछन्। उनले ट्रम्पलाई इरानको मामिलामा दखल दिनुको सट्टा आफ्नै देशको समस्यामा ध्यान दिन आग्रह गरे।


प्रतिक्रिया