काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीचको वार्ता असफल भएको छ । यो वार्ता असफल भएसँगै पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठकको तयारी भइरहेको छ भने विशेष महाधिवेशन आयोजकले निर्वाचन प्रकृया अगाडि बढाएका छन् ।
देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीबीच छलफल सुरू भएको थियो। वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए। दुई महामन्त्रीले देउवाको राजीनामा नै आफूहरूको बटमलाइन भएको बताएका थिए। देउवा लगायत संस्थापन पक्षले भने यो माग स्वीकार गर्न नमानेको वार्तामा सहभागी एक नेताले जानकारी दिए।
यद्यपि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता सकरात्मक रहेको बताएका छन् । प्रवक्ता डा. महतले भने, ‘टिकट वितरणका लागि गरिने हस्ताक्षर नै बाधक भएको हो भने त्यसका लागि सभापति देउवा लचिलो हुन तयार हुनुभयो ।’ ‘केन्द्रीय कमिटीले निर्णय गरेर मेरो हस्ताक्षर प्रयोग भएको हो । त्यही हस्ताक्षरले समानुपातिक र राष्ट्रियसभाको टिकट वितरण भयो । अब कस्को हस्ताक्षर प्रयोग गर्ने, त्यो निर्णय गर्नुहोस् म तयार छु’ सभापति देउवाको भनाइ उदृत गर्दै प्रवक्ता डा. महतले भने ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय कमिटीको बैठक बिहान ८ बजेका लागि बोलाइएको थियो । तर सभापति र महामन्त्रीद्वयबीचको वार्ताले स्थगित भएको उक्त बैठक बस्ने तयारी भइरहेको बुझिएको छ । यता भृकुटीमण्डपमा पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अघि बढेको छ ।


प्रतिक्रिया