काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग कुराकानी भएको र दुई देशबीचको सम्बन्ध उच्चस्तरमा अघि बढिरहेको बताएका छन् ।
कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ट्रम्प प्रशासनले तेल धनी दक्षिण अमेरिकी राष्ट्रमा आफ्नो दूतावास फेरि खोल्ने सम्भावनाबारे विचार गरिरहेको छ ।
यसै सन्दर्भमा रोड्रिगेजले बेलायतका लागि भेनेजुएलाका राजदुत फेलिक्स प्लासेन्सियालाई यसै हप्ता वासिङ्टन पठाउने योजना बनाएकी सिन्ह्वाले जनाएको छ । त्यही दिन भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोले पनि ह्वाइट हाउस भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
यसअघि शुक्रवार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । गएको जनवरी ३ मा अमेरिकी कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बलपूर्वक नियन्त्रणमा लिइएको केही दिनपछि अमेरिकी कूटनीतिज्ञ र सुरक्षाकर्मीहरूको टोली दूतावास फेरि खोल्ने सम्भावना आकलन गर्न काराकस पुगेको छ ।
यसैबीच अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले गएको हप्ता अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नभई देशको तेल उत्पादनको बिक्रीलाई अनिश्चितकालसम्म नियन्त्रण गर्ने बताएका थिए ।


प्रतिक्रिया