केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन

केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै ‘विद्रोह’ को शंखघोष गरेपछि तातिएको राजनीतिक माहौललाई सम्बोधन गर्न नेतृत्व अघि सरेको छ। पार्टीभित्र चुलिएको विवाद र पछिल्ला गतिविधिबारे आधिकारिक धारणा सार्वजनिक गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे आयोजना हुने यो विशेष पत्रकार सम्मेलनलाई कांग्रेस वृतमा निकै चासोका साथ हेरिएको छ। महामन्त्रीद्वयले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै विशेष महाधिवेशनको लबिङ थालेपछि उत्पन्न आन्तरिक तरङ्गलाई मथ्थर पार्न र संस्थापन पक्षको ‘बचाउ’ गर्न खड्काले आजको मञ्च प्रयोग गर्ने अनुमान गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सम्मेलनमा पार्टीका समसामयिक गतिविधि, निर्वाचनको समीक्षा र पछिल्लो समय सतहमा आएका आन्तरिक विवादका विषयमा जानकारी गराइनेछ। विशेषगरी महामन्त्रीद्वयको आक्रामक प्रस्तुतिपछि नेतृत्वले कसरी प्रतिवाद गर्छ वा समन्वयको बाटो रोज्छ भन्ने कुरा आजको पत्रकार सम्मेलनले प्रष्ट पार्नेछ।