भेनेजुएलाकी विपक्षी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आफ्नो पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुम्पेकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा मचाडोले आफूले प्राप्त गरेको प्रतिष्ठित नोबेल पदक ट्रम्पलाई हस्तान्तरण गरेकी हुन् ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले उक्त पदक आफूसँगै राख्ने तयारी गरेका छन् । लामो समयदेखि नोबेल पुरस्कारको आकाङ्क्षा राख्दै आएका ट्रम्पले यस घटनालाई ‘पारस्परिक सम्मानको सुन्दर नमुना’ भन्दै खुसी व्यक्त गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा प्रतिक्रिया दिँदै ट्रम्पले लेखेका छन्, ‘मेरो कामको सम्मानस्वरूप मारियाले आफ्नो नोबेल शान्ति पुरस्कार मलाई प्रदान गर्नुभएको छ । यो पारस्परिक सम्मानको सुन्दर संकेत हो । धन्यवाद मारिया ।’
भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरी त्यहाँका जनताको स्वतन्त्रताका लागि ट्रम्पले देखाएको प्रतिबद्धताको कदर गर्दै पदक सुम्पेको मचाडोले बताएकी छन् । उनले ट्रम्पसँगको भेटवार्ता निकै सकारात्मक भएको समेत उल्लेख गरेकी छन् ।
मचाडोले भौतिक रूपमा सुनको पदक ट्रम्पलाई उपहार दिए पनि नोबेल शान्ति पुरस्कारको आधिकारिक विजेता भने उनी नै रहने छिन् । नर्वेजियन नोबेल इन्स्टिच्युटले यसअघि नै नोबेल पुरस्कारको नियम स्पष्ट पार्दै एकपटक घोषणा भइसकेको पुरस्कार खारेज गर्न, बाँड्न वा अरूलाई कानुनी रूपमा हस्तान्तरण गर्न नमिल्ने जनाइसकेको छ । तसर्थ, पदक ट्रम्पको हातमा पुगे पनि इतिहासमा विजेताका रूपमा मचाडोकै नाम दर्ज हुनेछ ।


प्रतिक्रिया