काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले ले उम्मेदवारको अन्तिम नामावली टुङ्ग्याउने तयारी गरेको छ । प्रत्यक्षतर्फका उम्मेदवारहरूको चयन र सिफारिसलाई अन्तिम रूप दिन पार्टी केन्द्रीय सचिवालयको महत्त्वपूर्ण बैठक आज बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिनेछ । निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले त्यसअघि नै उम्मेदवारको टुङ्गो लगाउन एमाले सक्रिय भएको हो ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार तल्लो तहका कमिटीहरूबाट सिफारिस भई आएका नामहरूमाथि आजको बैठकमा गहन छलफल हुनेछ । ‘सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीले पठाएका सिफारिसका आधारमा सचिवालयले अन्तिम निर्णय लिनेछ,’ शाहीले भने ।
हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना प्रभावशाली नेताहरूको नाम सम्बन्धित क्षेत्रबाट सर्वसम्मत रूपमा आएको छ । अन्य क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै भएकाले सचिवालयले सन्तुलन मिलाएर उम्मेदवार चयन गर्ने जिम्मेवारी पाएको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको सम्पूर्ण सर्वाधिकार सचिवालयलाई प्रत्यायोजन गरेको थियो ।


प्रतिक्रिया