आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुग्यो

आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुग्यो


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक शक्ति संघर्ष अन्ततः न्यायिक निरुपणको ढोकामा पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि असन्तुष्ट बनेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत पुगेको हो ।

निर्वाचन आयोगको निर्णयलाई ‘त्रुटिपूर्ण’ ठहर गर्दै देउवा समूहका नेताहरू आयोगको कदमविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू र कानुनविद्हरूको टोली अदालत पुगेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको निवर्तमान केन्द्रीय समितिको बैठकले आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी लगायतका कानुनविद्हरूसँग परामर्श गरी रिटको मस्यौदा तयार पारिएको थियो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आयोगको निर्णयले पार्टीको विधान र स्थापित लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेको दाबी गरे । उनले भने, ‘हामीले विधिको शासन र न्यायका लागि न्यायालयको ढोका ढकढक्याएका हौँ । आयोगको निर्णयमा गम्भीर कानुनी त्रुटि देखिएकाले त्यसलाई बदर गर्न माग गर्दै हामी रिट लिएर आएका छौँ ।’