तीनवटै समूह समेटेर कांग्रेसले आजै टिकट वितरण गरिसक्ने

तीनवटै समूह समेटेर कांग्रेसले आजै टिकट वितरण गरिसक्ने


ग्लोब नेपाल
621
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आज तिनवटै समूहलाई समेटेर टिकट वितरणको काम टुंगो लगाउने भएको छ । पार्टी सभापति गगनकुमार थापाका अनुसार विशेष महाधिवेशनबाट पारित मापदण्डलाई फ्लो गर्दै क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका मध्येबाटै उम्मेदवार चयन हुने छन् ।

भिडियो सन्देशमा सभापति थापाले भने– ‘रुख चुनाव चिन्ह लिएर आउने कांग्रेस उम्मेदवार हुन्, पार्टीभित्रको आन्तरिक विवाद र गुटगत असन्तुष्टिलाई थाती राख्दै एक ढिक्का भएर चुनावमा होमिन म अपिल गर्दछु ।’ भोलि (मंगलबार) उम्मेदवारी दर्ता गर्नुपर्ने संवैधानिक बाध्यता र समयको चर्को चापका बीच सोमबार दिनभरमा उम्मेदवार चयन प्रक्रिया टुंग्याइने उनले जानकारी दिएका छन् । 

विशेष महाधिवेशनपछि तीन धारमा विभाजित देखिएको कांग्रेसभित्र गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहबीच शक्ति सन्तुलन मिलाउन सकस भइरहेको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिता दिएपछि अर्को समूह कानुनी परीक्षणका लागि सर्वोच्च अदालतमा पुगेको छ । दुवै समूहमा खुट्टा राखेको शेखर समूह अदालतको निर्णय शिरोधार्य गर्ने भन्दै निर्वाचनमा होमिइसकेको छ ।

विवाद समाधान गरी साझा उम्मेदवार तय गर्न आइतबार रातिदेखि नै दोस्रो तहका नेताहरू सक्रिय छन् । काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा तीनवटै समूहका नेताहरूबीच लामो छलफल भएको छ। छलफलमा गगन समूहबाट मधु आचार्य र देवराज चालिसे, देउवा समूहबाट रमेश लेखक तथा शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजाल खटिएका छन् ।

आज सोमबार बिहानैदेखि जारी बैठकमा टिकट भागबण्डा र कानुनी अड्चन फुकाउने विषयमा सघन मन्थन भइरहेको छ । सैद्धान्तिक र कानुनी विषयमा कुरा मिल्न बाँकी रहे पनि उम्मेदवारको मापदण्डमा भने नेताहरूबीच केही समझदारी बनेको बताएको छ ।

निवर्तमान सांसदहरू र कुनै पनि विवाद वा भ्रष्टाचारको आरोप नलागेका ‘स्वच्छ’ छवि भएका व्यक्तिहरूलाई प्राथमिकता दिने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन् । मंगलबार मनोनयनको समयसीमा रहेकाले आज साँझसम्म कसरी हुन्छ सहमति जुटाएर टिकट वितरण गर्ने तयारीमा नेताहरू लागिपरेका छन् ।