प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।