काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा थापाले मधेश प्रदेशको सर्लाहीलाई आफ्नो चुनावी क्षेत्र रोजेका हुन् ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार, सभापति थापाले यसपटक सर्लाही-४ बाट प्रतिस्पर्धा गर्ने तयारी अगाडि बढाएका छन् । यसअघि काठमाडौंबाट निरन्तर निर्वाचन जित्दै आएका थापाको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टीले हालसम्म उम्मेदवारहरूको औपचारिक टुंगो लगाउन र टिकट वितरण कार्य सम्पन्न गर्न बाँकी रहे पनि थापाको हकमा भने सर्लाही-४ पक्का भएको बुझिएको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि देशैभरका क्षेत्रहरूमा आन्तरिक गृहकार्य तीव्र पारेको छ ।


प्रतिक्रिया