शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा

शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा

कारोबार रकम ६ महिनायताकै धेरै



काठमाडौं । देश चुनावमय हुँदै जाँदा त्यसको सकारात्मक असर शेयर बजारमा पनि परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७ सय १४ दशमलव ८१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै ५ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १९ गते २ हजार ७ सय १९ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ बैंकको डिबेन्चर २०८९ सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतवार ८ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय ३९ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै ६ महिनायताकै धेरै हो । यसअघि गएको साउन १८ गते १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो ।