उमेर बढाएर वृद्धाभत्ता लिएको आरोपमा वडा अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

उमेर बढाएर वृद्धाभत्ता लिएको आरोपमा वडा अध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । वडा अध्यक्षसँगको मिलेमतोमा उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता लिएर भ्रष्टाचार गरेको आरोपमा ७ जना विरुद्ध मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा उक्त आरोप पत्र दायर गराएको हो ।

बारा, पचरौता नगरपालिका वडा नं. ६ मा बस्ने साजुला मिया अन्सारीसमेतले वडा अध्यक्षसँगको मिलेमतोमा उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता बुझ्दै आएको आरोप रहेको छ ।

अनुसन्धानका क्रममा बारा वडा नं. ६ निवासीहरू साजुला मिया अन्सारी, रबेया अंसारीन र उमत मिया अंसारीले ज्येष्ठ नागरिक भत्ता पाउन आफ्नो नागरिकताको वास्तविक जन्म मितिमा छेडखानी गरी सोको फोटोकपी पेस गरेको पाइएको छ ।

उमेर नपुगी राज्यलाई हानी नोक्सानी पुर्‍याउने नियतले जानी बुझी ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्न वडा कार्यालयमा निवेदन दिई भत्ता प्राप्त गरेको देखिएकोले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार प्रतिवादी साजुला मिया अंसारीले झुट्टा विवरण पेस गरी १ लाख ४० हजार, रबेया अंसारीले ८४ हजार, उमत मिया अंसारीले २ लाख ५२ हजार भत्ता प्राप्त गरेको देखिँदा लाभग्राहीले पेस गरेको निवेदन रितपूर्वक भए/नभएको वडा कार्यालयबाट जाँच नगरी मिलेमतोमा निवेदन दर्ता गरे गराएको देखिएको हो ।

साथै वडाअध्यक्ष मकबुल मिया अंसारीले छानबिन नगरी वडा समितिबाट निर्णय नगराई नगरपालिकामा ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यक्तिको नाम दर्ता गर्न सिफारिस गरेको आयोगले जानकारी दिएको छ ।

त्यस्तै वडा सचिवहरू राजाराम प्रसाद साह, पिटर थारु र संगिता घिमिरे लगायतले केरमेट भएको नागरिकताका आधारमा जानी बुझी भत्ता प्राप्त गर्ने व्यक्तिको नाम दर्ता गर्न सिफारिस गर्न सहयोग गरेको पुष्टि भएको बताइएको छ ।

प्रतिवादीहरूलाई विभिन्न सजायको माग गरिएको छ ।