म पदलोलुप होइन, बाध्यात्मक परिस्थितिमा सरकारमा गएको हुँ: कुलमान

म पदलोलुप होइन, बाध्यात्मक परिस्थितिमा सरकारमा गएको हुँ: कुलमान


ग्लोब नेपाल
189
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफू पदलोलुप नभएको बताएका छन् । चुनावी मैदानमा होमिएसँगै घिसिङले जेन–जी आन्दोलनपछि गठित सरकारमा आफ्नो सहभागितालाई लिएर उठेका प्रश्नहरूबारे स्पष्टीकरण दिँदै यस्तो बताएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका घिसिङले आफू पदको लोभी नभएको तर तत्कालीन विषम परिस्थितिका कारण जिम्मेवारी सम्हाल्नुपरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै घिसिङले आन्दोलनपछिको राज्य संरचना शून्यताको अवस्थामा पुगेको र संकटको निकासका लागि मात्र आफू सरकारमा गएको उल्लेख गरे । उनले लेखेका छन्, ‘आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको विशेष अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ ।’

उनले सरकारमा जाने बेलामै प्रधानमन्त्रीसमक्ष भविष्यमा राजनीतिमा जाने आफ्नो स्पष्ट योजना रहेको र गैरदलीय सरकारमा सहभागी हुँदा त्यो उपयुक्त नहुन सक्ने चिन्ता व्यक्त गरेको समेत खुलाएका छन् । ‘राजनीतिमा जानु परेमा राजीनामा दिएर जान सकिने प्रधानमन्त्रीको आग्रहपछि मात्र मैले जिम्मेवारी स्वीकार गरेको हुँ,’ घिसिङले स्पष्ट पारेका छन्, ‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ ।’

घिसिङले सरकारमा रहँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो ११५ दिनको छोटो कार्यकालमा भएका कामकारबाहीले नै आफ्नो जिम्मेवारीबोध पुष्टि गर्ने जिकिर गरेका छन् ।

आफ्नो विरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनले त्यस्ता टिकाटिप्पणीबाट प्रभावित नहुन सबैमा आग्रह गरेका छन् । उनले ‘उज्यालो नेपाल’ निर्माणका लागि आफ्नो जीवन राजनीतिमा समर्पित गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन् ।

यसअघि घिसिङको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच पार्टी एकताको अन्तिम तयारी भएको थियो । दुई दलबीच एकताको सहमति जुटे पनि अन्तिम समयमा आएर घिसिङले उक्त सहमति भंग गरेका थिए । पार्टी एकतापछि ‘उज्यालो नेपाल पार्टी’ को अस्तित्व नै नरहने अवस्था आएको र आफूले निर्माण गरेको राजनीतिक लिगेसी समाप्त हुने देखेर एकताबाट पछि हटेको उनले निकटस्थहरूलाई बताउने गरेका छन् । रास्वपासँगको सहकार्य टुटेसँगै उनी आफ्नै पार्टीको चुनाव चिन्ह लिएर काठमाडौं-३ को चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।