काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले धनकुटा सदरमुकाममा तय गरिएको प्रत्यक्ष भेटघाट कार्यक्रम अन्तिम समयमा स्थगन गरेपछि बजार क्षेत्रमा गाडीमार्फत परिक्रमा गर्दै फर्किएका छन्।
रास्वपाका अनुसार शनिबार माघ १० गते पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय गरिएको थियो। तर कार्यव्यस्तताका कारण उक्त कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ। तय समयअनुसार दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यसूची थियो।
भीमनारायण चोकमा साहले गाडीबाट नओर्ली केही समय झ्यालबाटै समर्थक र कार्यकर्तासँग हात मिलाएका थिए। धनकुटा जिल्ला समितिले केही दिनदेखि उनको आगमनलाई लिएर प्रचार–प्रसार गरे पनि सदरमुकाममा प्रत्यक्ष रूपमा सहभागी नहुँदै उनी फर्किएका हुन्।
रास्वपा धनकुटाका अनुसार विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएपछि धनकुटाको कार्यक्रम स्थगन गर्नुपरेको हो। पार्टीले आगामी निर्वाचनअघि साहको प्रमुख आतिथ्यमा धनकुटामै आमसभा आयोजना गर्ने योजना रहेको जानकारी दिएको छ।
धनकुटा सदरमुकाम प्रवेश गर्नुअघि साहले हिले बजारमा भने केही समय पैदल हिँड्दै समर्थक तथा मतदातासँग भेटघाट गरेका थिए। उनी यसअघि शुक्रबार माघ ९ गते तेह्रथुम सदरमुकाम म्याग्लुङमा बसेका थिए र शनिबार बिहान धनकुटा पुगेका थिए।


प्रतिक्रिया