काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनअघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताएका हुन् ।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियानमा लागेको बताए । जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरूको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लस्टरमा बाँडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरूलाई यही देशमा राख्न सकिन्छ भन्ने मेरो बुझाइ हो ।’
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौँ महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’


प्रतिक्रिया