काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता हरिबोल गजुरेललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि अर्का शीर्ष नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खनालले गजुरेलमाथिको कारबाहीलाई ‘अधिनायकवादी शैली’ को संज्ञा दिएका छन् । पार्टी एकताको भावना र मर्मविपरीत संयोजक प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै उनले कडा शब्दमा आपत्ति जनाएका हुन् ।
खनालले गजुरेलजस्तो वरिष्ठ र लामो राजनीतिक इतिहास बोकेका नेतालाई कारबाही गर्दा न्यूनतम सांगठनिक विधि समेत नअपनाइएको दाबी गरेका छन् । ‘कुनै पनि सदस्यलाई कारबाही गर्नुपूर्व सफाइको मौका वा स्पष्टीकरण सोध्नुपर्ने नैसर्गिक सांगठनिक नियम हो,’ खनालले भनेका छन्, ‘तर, गजुरेलजीलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको फरमान जारी गरिनु आश्चर्यजनक र कठोर छ ।’
उनले पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटीहरू निर्माण हुन नसक्नु र संस्थागत निर्णय प्रक्रिया ठप्प हुनु दुःखद भएको बताए । खनालका अनुसार, अहिले पार्टी विधि र पद्धतिमा नभई ‘एकाध व्यक्तिको लहड’ मा चल्न थालेको छ । निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र देखिएको यो रमिताले कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्ने चेतावनी खनालले दिएका छन् ।
उनले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र आकस्मिक रूपमा नेतृत्व तहको बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरे । ‘नेतृत्व नसच्चिए र सामूहिक निर्णय प्रणाली स्थापित नगरिए पार्टी एकीकरण नहुँदै विशृंखल बन्ने र फुट्ने खतरा प्रबल छ,’ खनालले चेतावनी दिँदै लेखेका छन्, ‘मुलुकविरुद्ध देशी-विदेशी षड्यन्त्र भइरहेको संगीन घडीमा व्यक्तिवादी निर्णय हाबी हुनु दुर्भाग्य हो ।’


प्रतिक्रिया