२३ हजार ११२ मतदान केन्द्र, एक केन्द्रमा ९ जना कर्मचारी

२३ हजार ११२ मतदान केन्द्र, एक केन्द्रमा ९ जना कर्मचारी


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले व्यापक रूपमा कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जनासम्म कर्मचारी खटाउने गरी तयारी थालेको हो ।

आयोगको योजना अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवक गरी नौ जना जनशक्ति परिचालन गरिनेछ । त्यसैगरी, पाँच सयसम्म मतदाता भएका केन्द्रमा भने आठ जना कर्मचारी खटाइनेछन् । जसमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र दुई स्वयंसेवक रहनेछन् । अस्थायी मतदान केन्द्रका लागि भने पाँच जनाको जनशक्ति व्यवस्थापन गरिनेछ ।

अहिले देशभर कुल २३ हजार ११२ मतदान केन्द्र तय गरिएका छन् । यी सबै केन्द्रमा कर्मचारी खटाउँदा करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले कर्मचारी व्यवस्थापनबारे जानकारी दिँदै भने, ‘निजामती कर्मचारीले पुगेसम्म उनीहरूलाई नै प्राथमिकता दिइनेछ, तर अपुग भएको खण्डमा सामुदायिक विद्यालयका शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीलाई समेत जिम्मेवारी दिइनेछ ।’

आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ निर्वाचन अधिकृतको कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्व सम्भव भएसम्म जिल्ला न्यायाधीशले गर्नेछन् भने निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिव स्तरका कर्मचारी रहनेछन् । त्यस्तै, जिल्ला र प्रदेश स्तरका कार्यालयमा क्रमशः शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले नेतृत्व गर्ने गरी तयारी भइरहेको प्रवक्ता भट्टराईले बताए ।

यसैबिच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचनका लागि कर्मचारीको अभाव नहुने स्पष्ट पारेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा पर्याप्त कर्मचारी रहेकाले आयोगलाई आवश्यक पर्ने जनशक्ति मन्त्रालयले सहजै उपलब्ध गराउने मन्त्रालयको दाबी छ ।

मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले सरकारको मुख्य प्राथमिकता निर्वाचन भएकाले जनशक्ति व्यवस्थापनमा कुनै समस्या नहुने बताए । उनले भने, ‘सङ्घीय तहमा मात्र नभई प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत निर्वाचनमा परिचालन गर्न सकिन्छ । त्यसैले कर्मचारीको अभाव हुने देखिँदैन ।’

कुनै विशेष प्रकृतिका कर्मचारी आवश्यक परे आयोगले सम्बन्धित कार्यालयबाट सोझै खटाउन सक्ने अधिकार समेत रहेको पौडेलले बताए । आयोगले अहिले मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको छ भने मतदान केन्द्रहरूमा निर्वाचनको केही समयअघि मात्र कर्मचारी खटाउने तयारी गरेको छ ।