भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार



चितवन । भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो ।

विगतका वर्षमा यो मौसममा भारतबाट अवैध दूध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गरेको थियो । यससँगै यहाँ उत्पादन भएको दूधलाई बिक्री गर्न नसकेपछि प्रशोधन गर्न बाध्य हुनुपर्थ्यो । यस वर्ष भारतमा दूधको मूल्य बढेपछि यहाँको दूध सीमा क्षेत्रबाट अवैध रुपमा भारतका बजारमा जान थालेको छ । जसका कारण नेपाली उत्पादनले बजार पाएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दूधको मूल्य नेपालको भन्दा ४६ पैसा मात्र बढी छ । जसका कारण भारतीय बजारबाट विगतमा अवैध रुपमा आउने गरेको दूध यस वर्ष आएको छैन ।

“ढुवानी जोड्दा नेपालीभन्दा महँगो पर्ने भएपछि भारतबाट दूध आएको छैन, यहाँको लुकीछिपी सीमा क्षेत्रबाट भारत लगिएको छ,” उनले भने ।

यहाँको सीमा क्षेत्रबाट भारतको पट्नालगायत सीमा क्षेत्रमा लुकाई–छिपाई दूध गएको सूचना आएको उनी बताउँछन् । यससँगै भुक्तानी समयमा नपाउँदा किसानले पशुपालनमा रुचि कम गरेका कारण उत्पादन पनि घटेको उनको भनाइ छ ।

यो मौसममा यकिन तथ्यांक नभए पनि दैनिक ४५ लाख हाराहारी लिटर दूध उत्पादन हुने गरेको उनी बताउँछन् । गत वर्षको तुलनामा एक लाख हाराहारी लिटर दूध घटेको उनको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले यस वर्ष भारत तर्फबाट दूध नआउँदा यहाँ उत्पादित दूधले बजार पाएको बताउँछन् । उनका अनुसार मंसिर, पुस र माघमा दूधको खपत कम हुने भएकाले उत्पादनको व्यवस्थापन जटिल हुने गर्छ ।

जाडो महिनामा दही, आइसक्रिमजस्ता दुग्धजन्य उत्पादन खपत नहुने उनी बताउँछन् ।