यतिबेला गगनले किन खोजे देउवाको साथ ?

यतिबेला गगनले किन खोजे देउवाको साथ ?


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली कांग्रेसले सांगठनिक संरचनालाई चुनावी अभियानमा होमिन आह्वान गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभरका सांगठनिक संरचनामार्फत् कांग्रेसले यस्तो आह्वान गरेको हो । पार्टीको केन्द्रीय सचिवालयले ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै निर्वाचनको तयारीमा जुट्न औपचारिक आह्वान गरेको हो ।

विशेष महाधिवेशनपछिको तरल राजनीतिक अवस्था र आन्तरिक समीकरणका बीच महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले यो परिपत्र जारी गरेका हुन् । परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका तथा प्रक्रियाप्रति सहमत वा असहमत रहेका सबै पक्षलाई पार्टीको विधि र विधानलाई आत्मसात् गर्दै साझा लक्ष्यमा केन्द्रित हुन आग्रह गरिएको छ ।

पार्टीलाई थप सुदृढ बनाउन निवर्तमान सभापति देउवाको अनुभव र सहयोग अपरिहार्य रहेको नेतृत्वले महसुस गरेको छ । ‘वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्न र लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहमा रहेका अनुभवी नेताहरूको पूर्ण साथ रहने विश्वास लिएका छौँ,’ परिपत्रमा उल्लेख छ ।

परिपत्रमा भनिएको छ, ‘आजसम्मका उपलब्धिहरूलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प हामीले गरेका छौँ । अब कांग्रेस बदलिएको छ र थप बदलिनेछ ।’