बारामा घरभित्रै पसेर आमा-छोराको हत्या

बारामा घरभित्रै पसेर आमा-छोराको हत्या


ग्लोब नेपाल
324
Shares

काठमाडौं । बाराको परवानीपुरमा मध्यरातमा आक्रमणकारीले घरभित्रै पसेर अन्धाधुन्ध प्रहार गर्दा एकै परिवारका दुई जनाको हत्या भएको छ । आक्रमणमा परी आमा र छोराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका पितासहित तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार परवानीपुर गाउँपालिका-१, रहरियाडी निवासी ५२ वर्षीया सुमित्री देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । बिहान करिब ३ बजेको समयमा परिवारका सदस्यहरू सुतिरहेको अवस्थामा एक अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी प्राणघातक हमला गरेका थिए ।

आक्रमणमा परी मृतक रामेश्वरका बुबा जगरुक मण्डल गम्भीर घाइते भएका छन् । उनीसँगै अन्य दुई जनालाई पनि सोही व्यक्तिले हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था चिन्ताजनक रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा सघन उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । ‘मध्यरातमा घरभित्र प्रवेश गरेर अन्धाधुन्ध हतियार प्रहार गरी घटना गराइएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी कुँवरले भने, ‘हामी अहिले घटनास्थलमै छौँ, दोषीको पहिचान र घटनाको कारणबारे सुक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाएका छौँ ।’