काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा भारी वृद्धि भएपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा उल्लेख्य वृद्धि भई प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको तुलनामा ९ हजार ५०० रुपैयाँले बढी हो । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ । केही समयदेखि निरन्तर उकालो लागिरहेको सुनको भाउ बुधबार ९ लाख १९ हजार रुपैयाँको मनोवैज्ञानिक विन्दु नजिक पुग्नुले बजारमा नयाँ तरंग पैदा गरेको छ ।
सुनसँगै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड राखेको छ। बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ६ हजार ८७० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा चाँदीमा एकैदिन ४३० रुपैयाँको वृद्धि देखिएको छ ।
महासंघका अनुसार आज कायम भएको सुन र चाँदी दुवैको मूल्य नेपाली सुनचाँदी कारोबारको इतिहासमा हालसम्मकै उच्च हो । विश्व बजारमा देखिने अस्थिरता र आर्थिक सूचकाङ्कहरूमा आएको परिवर्तनका कारण नेपाली बजारमा पनि यसको सिधा असर परेको व्यवसायीहरूको विश्लेषण छ ।


प्रतिक्रिया