अमेरिकाले मध्यपूर्वमा सैन्य अभ्यास गर्ने

अमेरिकाले मध्यपूर्वमा सैन्य अभ्यास गर्ने



वासिङ्टन डीसी । अमेरिकी सैन्य बलले मध्य पूर्वमा कयौँ दिनसम्म हवाई अभ्यास गर्ने भएको छ । इरानसँग तनाव बढिरहँदा अमेरिकाले मध्य पूर्वमा आफ्नो उपस्थिति बढाइरहेको अवस्थामा यो घोषणा आएको हो ।

अभ्यासको उद्देश्य कठिन परिस्थितिमा पनि सुरक्षित, सटीक र साझेदार राष्ट्रहरूसँग मिलेर लडाकु उडान सञ्चालन गर्न सक्ने क्षमता प्रमाणित गर्नु भएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)अन्तर्गत वायु सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल डेरेक फ्रान्सले जारी गरेको विज्ञप्तिमा बताएका छन् ।

यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ अमेरिकी ‘आर्माडा’ अघि बढिरहेको चेतावनी दिँदै सम्भावित सैन्य कारबाहीको संकेत गरेपछि आएको हो । ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनमाथि भएको कडा दमनप्रति पनि कडा प्रतिक्रिया जनाएका छन् । सेन्टकमका अनुसार यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत समूह यसअघि नै मध्य पूर्वमा आइपुगेको छ ।

इरानबारे के कदम चाल्ने भन्ने विषयमा ट्रम्पले अझै निर्णय गरी नसकेको स्रोतहरू भन्छन् । सावधानीका लागि केही जहाजहरू पठाइएको ट्रम्पले शुक्रबार भनेका थिए । केही गर्नु नपरोस् भन्ने आफूले चाहेको अनि नजिकबाट निगरानी गरिरहेको पनि उनले भनेका थिए ।

सेन्टकमले अभ्यास कहाँ गर्ने, कति समयसम्म गर्ने र कुन–कुन सैन्य साधन सहभागी हुने भन्नेलगायत विवरण खुलाएको छैन । हालै भइरहेको सरकारविरोधी आन्दोलनलाई इरान सरकारले कडा रूपमा दबाएपछि अमेरिका–इरानबिचको तनाव थप चर्किएको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएएनएका अनुसार प्रदर्शन सुरु भएयता ५ हजार ८०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् ।