काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् । शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ । त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु पर्यो । ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।’
उनले भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो । अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै वहाँहरूको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।’
फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै शाहले सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।


प्रतिक्रिया