युक्रेन-रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

युक्रेन-रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति


एपी
216
Shares

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबिच लागु भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ । युक्रेनी समाचार एजेन्सीका अनुसार, शुक्रबार रातिदेखि लागु भएको युद्धविराममा युक्रेनले आक्रमण रोक्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले साँझ राष्ट्रलाई सम्बोधन गर्दै भन्नुभयो, “युक्रेनले आक्रमणमा संयमता अपनाउन तयार छ, र आज हामीले रुसका ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण गरेका छैनौँ ।” उहाँले यस कदमलाई जनताको जीवन जोगाउन र ऊर्जा प्रणाली सुरक्षित राख्न आवश्यक ठानेको बताउनुभयो ।

जेलेन्स्कीले अमेरिकी पक्षले दुवै देशलाई ऊर्जा पूर्वाधारमाथि एक हप्तासम्म आक्रमण नगर्न प्रस्ताव गरेको जानकारी पनि दिनुभयोे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको राजधानी किएभसहित अन्य सहरमा एक हप्तासम्म आक्रमण नगर्न आग्रह गर्नु भएको थियो ।

उहाँका अनुसार अत्यधिक चिसो मौसमका कारण ऊर्जा प्रणालीमा क्षति पुगेमा जनजीवन झनै कठिन हुने छ । यस अनुरोधका उत्तर स्वरूप क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनका ऊर्जा पूर्वाधारमाथि फेब्रुअरी १ सम्म आक्रमण रोक्ने सहमति जनाएको जानकारी दिनु भएको छ । आरबीसी-युक्रेन समाचार माध्यमले यो तथ्य सार्वजनिक गरेको छ ।

विश्लेषकहरूले यस कदमलाई हालको द्वन्द्वमा मानवीय राहत तर्फको सानो तर महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरेका छन् । यद्यपि, दीर्घकालीन शान्ति र स्थिरता कायम राख्न अझै कूटनीतिक पहल र वार्ता आवश्यक रहेको उल्लेख गरिएको छ । यस युद्धविरामले युक्रेनका नागरिकलाई कठिन जाडो मौसममा ऊर्जा आपूर्ति कायम राख्न सहयोग पुर्याउने र जनजीवनमा केही राहत दिने अपेक्षा गरिएको छ ।