काठमाडौं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ ।
निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए । उनकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधीन संसद भवनबाटै सञ्चालन हुनेछ ।
प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए ।
उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए । उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए ।
यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त बनाएका थिए ।
उक्त भवनको पुर्न निर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया