काठमाडौं । निर्वाचनको मुखैमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटर्वाता भएको छ । हिजो (आइतबार) साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटर्वाता भएको बताइएको छ । भेटवार्ता भएको स्थान पनि गोप्य राखिएको छ ।
उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ।
स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा सहयोग गर्न आग्रह गरिएको बताइएको छ। सो भेटघाटबारे शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता प्रकट गरेका छन् ।
‘‘म काठमाडौं बाहिर छु यो विषयमा मलाई जानकारी छैन, भेटघाट भएको होइन होला म भोली मात्र काठमाडौं आउँछु’, उनले भने। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि शीर्ष नेताहरुको भेटघाटबारे आफूलाई जानकारी नभएको बताए । ‘यो विषयमा मलाई औपचारिक जानकारी छैन,’ प्रचार विभाग प्रमुख शाहीले भने ।
एमालेले झापा, दाङ लगायतका क्षेत्रमा सहयोगका अपेक्षा गरेको स्रोतको दाबी छ। गगन थापाले विशेष महाधिवेशन गरेर सभापति बनेपछि ओली, देउवा र दाहालको भेट भएको हो ।


प्रतिक्रिया