स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादित ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिए । उनले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न सुरु गरिएको बताए । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ । ईभी सवारीको प्रवर्द्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेसन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडि बढाएको अध्यक्ष थापाले जानकारी दिए । नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उनले बताए । ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले नेपालमा ११ सिटर, १४ सिटर गाडीलाई एसेम्बल गरेर अहिले रहेको तीन पाङ्ग्रे सवारी साधनलाई चार पाङ्ग्रेमा रूपान्तरण गर्ने अवधारणा बनायौँ । सोही अनुसार चार पाङ्ग्रे सवारी साधन एसेम्बल गर्नका लागि विभिन्न ठाउँमा गएर अध्ययन गर्‍यौँ । विभिन्न कम्पनीहरूमा भ्रमण गर्दा हामीले पनि बनाउन सक्छौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । हामीले आफ्नै देशको सामग्री प्रयोग गरेर ६० प्रतिशतभन्दा बढी बनाउन सक्यौँ । बाँकी केही सामानहरू भारत र चीनबाट ल्याएर एसेम्बल गरी हामी अहिले अन्तिम अवस्थामा पुगेका छौँ । हामी अब आउँदो हप्ताभित्र काठमाडौंको सडकमा यो सञ्चालन गरेर देखाउनेछौँ ।’

तीन पाङ्ग्रे सवारीमा हुने भीडभाड र दुर्घटनाको जोखिम कम गर्न चार पाङ्ग्रे सवारी आवश्यक रहेको उनले बताए । यसले ट्राफिक जाम कम गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार यो सवारी निर्माणको अन्तिम चरणमा छ, अब काठमाडौंको सडकमा परीक्षण गरेर यातायात व्यवस्था कार्यालयमा दर्ताका लागि लैजाने उनले जानकारी दिए ।

सवारीको विशेषता
सुन्दर अटो इन्जिनियर प्रा.लि.ले निर्माण गरेको १४ सिटर ईभीमा एसी, पंखा जडान गर्न मिल्ने र सिसा जडित संरचना रहेको छ । सवारीले १४ यात्रु र प्रतिव्यक्ति ५० केजी भारसहित १७ डिग्री उकालो चढ्न सक्ने क्षमता राख्दछ । मुख्य रूपमा सहर केन्द्रित यो सवारी काठमाडौं उपत्यका, तराई तथा देशका प्रमुख सहरमा सञ्चालन गर्न उपयुक्त रहेको कम्पनीका अध्यक्ष थापाले जानकारी दिए । भविष्यमा यसलाई दुर्गम क्षेत्रसम्म पुग्ने गरी विकास गर्ने योजना रहेको थापाले सुनाए ।

उनले भने, ‘हामीले बनाएको गाडीमा १४ जना अट्नेछन् । गाडीमा एसी, पंखा राख्न मिल्छ । बाहिर सिसा जडित छ, यो वातावरणमैत्री सवारी साधन त भइहाल्यो, ट्राफिक जाम पनि यसले कम गर्छ । आफ्नै देशमा उत्पादित विद्युतबाट सञ्चालित हुने भएकोले त्यसमा पनि राहत छ । यो १४ जना बोकेर १७ डिग्री क्षमतामा चढ्न सक्छ । १४ जनामा पनि हामीले प्रतिव्यक्ति अर्को ५० केजी जोडेका हुन्छौँ । हामीले उपत्यकाभित्र ६५ केजी व्यक्तिको वजन राखेका छौँ ।’

एक सवारी निर्माण गर्न सात दिनको समय लागेको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार नेपालमा नै उपलब्ध जनशक्तिले यो सवारीको एसेम्बल गरिएको हो । ठूलो परिमाणमा उत्पादन गर्दा दुई दिनमै सवारी तयार गर्न सकिने अध्यक्ष थापाले बताए । उनका अनुसार गाडीको डिजाइन भारतमा तयार गरिएको हो भने गाडीको बडी डिजाइन, वायरिङ र अधिकांश संरचना नेपालमै तयार गरिएको हो ।

‘हामीले प्रयोग गरेका सबै पार्टपूर्जामा एनएस प्रमाणपत्र प्राप्त सामग्री मात्रै प्रयोग गरेका छौँ,’ उनले भने ।

भैरहवामा कार एसेम्बल भए पनि सार्वजनिक यातायातका लागि १४ सिटर ईभी सवारी उत्पादन गर्ने पहिलो प्रयास आफूहरूले गरेको थापाको दाबी छ । सरकारले गाडीलाई मान्यता र सहजीकरण गरिदिए आउँदो वर्ष ठूलो संख्यामा यस्ता सवारी उत्पादन गर्न सक्ने उनले बताए । उनले सवारीको मूल्य भने सरकारी परीक्षणपछि सार्वजनिक गरिने जानकारी दिए ।

कानुन नै सबैभन्दा ठूलो बाधक
ईभी सवारी उत्पादन तथा एसेम्बलमा कानुनी जटिलता मुख्य चुनौती बनेको थापाको भनाइ छ । नेपालमा बनेका पुराना कानुनको परिमार्जन नहुँदा नवप्रवर्तकका लागि समस्या भएको उनले बताए । प्रविधिको विश्वव्यापी युगमा नेपालको कानुन भने समयसापेक्ष नभएको अध्यक्ष थापाले गुनासो गरे ।

‘अरू देशमा नवप्रवर्तनलाई कानुनले हौसला दिन्छ, तर नेपालमा भने एसेम्बल गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न खोज्दा भन्सार, भ्याटलगायत विभिन्न करले निराश बनाइन्छ,’ उनको गुनासो छ ।

सरकारले राम्रो काम गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्नेमा नीतिगत रूपमा हतोत्साहित गर्ने अवस्था रहेको उनले बताए । उनले कानुन परिवर्तनशील भए पनि नेपालमा भने एक पटक बनाएको कानुन कहिल्यै फेर्नु हुँदैन भन्ने सोचले विकास रोकिएको थापाको आरोप छ । अध्यक्ष थापाले वर्तमान सरकारप्रति भने केही आशा रहेको बताए ।

उनले भने, ‘अब सात दिनभित्र हामी यो गाडी सडकमा ल्याएर यातायात विभागमा लैजान्छौँ, त्यसपछि सरकारले कस्तो सहयोग गर्छ, हेरौँ ।’

अध्यक्ष थापाले गाडी एसेम्बल गर्ने नीति भए पनि त्यसलाई सहजीकरण गर्न आवश्यक रहेको बताए । यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारीलाई ईभीमा रूपान्तरण गर्ने अहिलेको व्यवस्था पनि अव्यावहारिक रहेको उनले बताए । उनका अनुसार हाल तीन वर्षका लागि मात्र ईभी बनाउन दिने प्रावधान छ । ‘कसले तीन वर्षका लागि १०-१५ लाख खर्च गरेर ईभी बनाउँछ ?’ उनको प्रश्न छ ।