झापाका सुकुम्वासी वास्तविक हुन्: बालेन

झापाका सुकुम्वासी वास्तविक हुन्: बालेन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापाका सुकुम्वासीहरूको समस्या समाधानका लागि आफूहरू गम्भीर रहेको बताएका छन् । झापा-५ को चुनावी अभियानका क्रममा मंगलबार बिहान कमल गाउँपालिका पुगेका बालेनले त्यहाँका सुकुम्वासी बस्तीको स्थलगत अवलोकन गर्दै स्थानीयसँग अन्तर्क्रिया गरेका हुन् ।

पछिल्लो समय काठमाडौंमा सुकुम्वासी बस्तीमा डोजर चलाइएको घटनालाई लिएर झापाका सुकुम्वासीहरूले चिन्ता व्यक्त गरेपछि बालेनले त्यसको प्रष्टीकरण दिएका छन् । स्थानीयले ‘बालेन आएपछि झापामा पनि सुकुम्वासीलाई उठाउने हो कि ?’ भनी राखेको जिज्ञासामा उनले काठमाडौंको कदम बाध्यकारी र सुरक्षाका लागि भएको दाबी गरे ।

‘काठमाडौंमा खोला किनारको सार्वजनिक जग्गामा बाढी र डुबानको ठूलो जोखिम थियो । वर्षायाममा बस्तीभित्र पानी पसेर ज्यान नै जोखिममा पर्ने भएपछि उहाँहरूलाई सुरक्षित ठाउँमा सार्न खोजिएको हो,’ बालेनले भने, ‘त्यो कदम कसैलाई दुःख दिन नभई ज्यान जोगाउनका लागि चालिएको थियो, तर त्यसलाई गलत ढंगले व्याख्या गरियो ।’

झापाका सुकुम्वासीहरूको अवस्था काठमाडौंको भन्दा फरक र मौलिक रहेको उनको तर्क थियो । ‘यहाँ त मानिसहरू ४०–५० वर्षदेखि बसोबास गरिरहनुभएको छ, यो वास्तविक सुकुम्वासी समस्या हो,’ बालेनले थपे, ‘हामी वास्तविक र उपभोग गरिरहेका सुकुम्वासीहरूलाई न्याय दिलाउन चाहन्छौँ ।’

सो क्रममा बालेनका सल्लाहकार कुमार व्यञ्जनकार (कुमार वेन) ले वि.सं. २०४८ सालयता २३ वटा भूमि आयोग गठन भए पनि सुकुम्वासी समस्या केवल राजनीतिक दाउपेचमा सीमित भएको टिप्पणी गरे । उनले दशकौँ बित्दा पनि लालपूर्जा नपाउनु राज्यको कमजोरी भएको बताए । स्थानीय बासिन्दाहरूले भने पटक-पटक लगत संकलन हुने तर नतिजा शून्य रहने गरेको भन्दै आक्रोश पोखेका थिए ।