झापा-५ स्थित रास्वपाको सम्पर्क कार्यालयमा ढुंगा प्रहार, झ्यालमा क्षति

झापा-५ स्थित रास्वपाको सम्पर्क कार्यालयमा ढुंगा प्रहार, झ्यालमा क्षति


ग्लोब नेपाल
0
Shares

काठमाडौं । झापाको कमल गाउँपालिका-२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गएराति ढुंगा प्रहार भएको छ । झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने सो क्षेत्रमा जयप्रकाश अधिकारीको घरमा भाडामा लिई सञ्चालन गरिएको रास्वपाको सम्पर्क कार्यालयलाई लक्षित गरी आक्रमण भएको हो ।

बुधबार मध्यराति भएको उक्त घटनामा घरको माथिल्लो तलामा रहेको कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् । ढुंगा प्रहारबाट घरधनी बस्ने कोठाको सिसामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराज गेलालका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान अघि बढाइएको छ । उनले सम्पर्क कार्यालय रहेको कोठाभित्र भने कुनै गम्भीर क्षति नभएको र घरको बाहिरी सिसाहरू फुटेको बताए । ‘ढुंगा प्रहारबाट झ्यालको सिसा फुटेको छ, हामीले यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेका छौँ,’ सीडीओ गेलालले भने ।

रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले लोकतान्त्रिक अभ्यासमा यस्ता उच्छृंखल गतिविधि स्वीकार्य नहुने भन्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । घटनामा संलग्न व्यक्तिको पहिचान भइनसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । मध्यराति भएको यस घटनाले स्थानीय क्षेत्रमा सुरक्षा संवेदनशीलता बढाएको छ ।