शानदार परिणाम ल्याउन काँग्रेसलाई कसैले रोक्न सक्दैन : गगन थापा

शानदार परिणाम ल्याउन काँग्रेसलाई कसैले रोक्न सक्दैन : गगन थापा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्‍याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन् ।

शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गरेका हुन् । उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले विगतको निर्वाचनमा काँग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने बताए । उनले जेनजी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरू अघि बढिरहेको बताए ।

उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए । उनले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवा लगायतसँग निरन्तर संवाद भइरहेको पनि बताए ।

उनले भने, ‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पुर्‍याउनसक्ने हो भने नेपाली काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन । भइसक्यो भन्ने हैन । यो तपाईं र ममा भर पर्छ । तल मतदाता छन् । ती मतदाता आजको दिनमा के सोचिरहेका छन् । २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा ।’

अबको सरकार काँग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ ।