नयाँ दिल्ली । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप शनिबार सुरु हुँदैछ । विश्वकप कुनै पनि खेलाडीका लागि प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने यो ठुलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन् जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । तीमध्ये पाँच खेलाडीको यहाँ चर्चा गरिएको छ ।

अभिषेक शर्मा (भारत)
पहिलो बलदेखि नै चौका, छक्का प्रहार गरेर टी–२० क्रिकेटमा सनसनी मच्चाइरहेका खेलाडी हुन् भारतका प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मा । अन्तर्राष्ट्रिय क्रिकेटमा टी–२० मा सर्वश्रेष्ठ स्ट्राइक रेट (१९४.७४) मा ब्याटिङ गर्ने अभिषेक विश्वका नम्बर एक टी–२० ब्याट्सम्यान हुन् । अभिषेकले ३८ खेलमा ३७.०५ को औसतमा दुई शतक र आठ अर्धशतक बनाएका छन् । भारतले एसिया कप जित्दा अभिषेक सर्वश्रेष्ठ खेलाडी बनेका थिए । भारतले उपाधि रक्षा गर्नु छ भने अभिषेक चम्कनु जरुरी देखिन्छ ।

ज्याकोब बेथेल (इङ्ग्ल्यान्ड)
इङ्ग्ल्यान्डका २२ वर्षीय अलराउन्डर ज्याकोब बेथेलले गत वर्ष आइपिएलको पदार्पण खेलमै ३३ बलमा ५५ रन बनाएर सनसनी मच्चाएका थिए । बेथेलले टेस्ट क्रिकेट शृङ्खलाको युद्धको रूपमा लिइने एसेज सिरिजको अन्तिम टेस्टमा पनि अस्ट्रेलियाविरुद्ध १५४ रन बनाएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । उनी विशेषतः स्पिनरविरुद्ध निकै आक्रामक बन्छन् । बायाँहाते स्पिन बलिङमा पनि माहिर भएकाले बेथेल भारतीय पिचका लागि उपयुक्त खेलाडी ठानिएकाे छ । विश्वकपअघि श्रीलङ्काविरुद्धको खेलमा उनले मात्र ११ रन खर्चिएर ४ विकेट लिएर आफ्नो अलराउन्ड क्षमता प्रमाणित गरिसकेका छन् ।

डेवाल्ड ब्रेभिस (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिका ड्वाल्ड ब्रेभिस ‘बेबी एबी’ (एबी डी भिलियर्स) को उपनामले चर्चित क्रिकेटर हुन् । डिभिलियर्सको शैलीमा ब्याटिङ गर्ने ब्रेभिसले १९ वर्षको उमेरमै ५७ बलमा १६२ रन बनाएर दक्षिण अफ्रिकाका लागि उच्च स्कोर बनाएका थिए । आइपिएलमा मुम्बई इन्डियन्सबाट खेल्ने ब्रभिस अहिले ग्लोबल क्रिकेटर बनिसकेका छन् । उनीसँग विश्वभरको फ्रेन्चाई क्रिकेटको अनुभव छ ।

नुर अहमद (अफगानिस्तान)
रासिद खानको पदचिह्न पछ्याउँदै आएका अफगानिस्तानका बायाँहाते लेग स्पिनर नुर अहमदले २२ वर्ष नपुग्दै विश्वभरका टी–२० लिग खेलिसकेका छन् । उनीसँग भारत, युएई, दक्षिण अफ्रिका, अमेरिका, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजमा फ्रेन्चाई टी–२० लिग खेलेको अनुभव छ । करिब दुई सय टी–२० खेलका अनुभवी नुर भारत र श्रीलङ्काका स्पिनमैत्री पिचमा निकै घातक हुने अनुमान गरिएको छ । रासिद खानसँग नुरको साझेदारीलाई यस विश्वकपकै सर्वाधिक खतरनाक स्पिन जोडीका रूपमा लिइएको छ ।

फिन एलन (न्युजिल्यान्ड)
न्युजिल्यान्डका विस्फोटक ब्याट्सम्यान फिन एलन सानदार लयमा छन् । विश्वकपअघि भारतसँगको टी–२० खेलमा एनले ३६ बलमा ८० रन बनाएका थिए । सन् २०२४ मा पाकिस्तानविरुद्ध ६२ बलमा १६ छक्कासहित १३७ रन बनाएपछि एलनले पछाडि फर्केर हेरेका छैन । त्यसपछि उनले विश्वभरका टी–२० लिग खेलेका थिए । अस्ट्रेलियाको बिग ब्यास लिगमा उनले १८४ को स्ट्राइक रेटमा कुल ४६६ रन बनाएर पर्थ स्कोचर्सलाई च्याम्पियन बनाएका थिए ।


प्रतिक्रिया