भारत-अमेरिकाबीच व्यापारिक समझदारी, ३० ट्रिलियन डलरको बजार खुला

भारत-अमेरिकाबीच व्यापारिक समझदारी, ३० ट्रिलियन डलरको बजार खुला


ग्लोब नेपाल
81
Shares

काठमाडौं । विश्व अर्थतन्त्रका दुई प्रमुख शक्ति मुलुकहरू संयुक्त राज्य अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धमा नयाँ आयाम थपिएको छ । लामो समयको प्रतिक्षा र वार्तापछि दुवै देशले ‘अन्तरिम व्यापार सम्झौता’ को औपचारिक घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध लगाइँदै आएको ५० प्रतिशतको उच्च आयात शुल्क (ट्यारिफ) लाई नाटकीय रूपमा घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरेका छन् । गत २ फेब्रुअरीमा प्रारम्भिक सहमति भए पनि हालै जारी संयुक्त वक्तव्यमार्फत यसको विस्तृत खाका सार्वजनिक गरिएको हो । निर्णयसँगै भारतीय सामानहरू अमेरिकी बजारमा थप प्रतिस्पर्धी बन्ने देखिएको छ ।

भारतीय वाणिज्य मन्त्री पीयूष गोयलले यस सम्झौतालाई भारतीय निर्यात क्षेत्रका लागि ‘स्वर्ण अवसर’ को रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यो सम्झौताले भारतीय उत्पादनका लागि ३० ट्रिलियन डलर (करिब ४३३ खर्ब नेपाली रुपैयाँ) बराबरको विशाल विश्व बजारको ढोका खोलेको बताएका छन् ।

सम्झौताका सर्तहरू केवल व्यापारमा मात्र सीमित छैनन्, यसले भू-राजनीतिक महत्त्व समेत बोकेको छ । ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेश अनुसार, भारतले अब रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात बन्द गर्ने कडा प्रतिबद्धता जनाएको छ । रुसी ऊर्जाको विकल्पमा भारतले अब अमेरिकाबाट ऊर्जा उत्पादनहरू खरिद गर्नेछ ।

यसका साथै, दुवै देश आगामी १० वर्षसम्म रक्षा सहयोगलाई थप सुदृढ र विस्तार गर्न सहमत भएका छन् । अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ‘रेसिप्रोकल ट्यारिफ’ (पारस्परिक शुल्क) घटाउने सुनिश्चित गरेपछि भारतले यी रणनीतिक निर्णयहरू लिएको बुझिएको छ ।

ह्वाइट हाउसका अनुसार यो एक अन्तरिम सम्झौता भए तापनि यसले भविष्यको पूर्ण व्यापारिक सन्धिको लागि बलियो आधारशिला खडा गरेको छ । सम्झौताको आवश्यक फ्रेमवर्क र सर्तहरू तय भइसकेका छन् । यसले विशेष गरी प्रविधि, ऊर्जा र रक्षा सामग्रीको व्यापारमा दुवै देशलाई निकट ल्याउने विश्वास गरिएको छ ।